समग्र वागवानी क्षेत्रको विकासमा सेवा टेवा पुऱ्याउने, निजी क्षेत्रमा फलफूल बगैंचा स्थापनालाई बढावा दिई कृषकहरूको जीवनस्तर माथि उठाउने, प्राविधिक सेवा पुऱ्याउने उद्देश्य लिई साविक पश्चिमाञ्चल विकास क्षेत्रको लुम्विनी अञ्चल पाल्पा जिल्ला तानसेन नगरपालिकाको होलाङ्गदीमा २०२५ सालमा यस केन्द्रको स्थापना भएको हो। स्थापनाकाल देखि नै कृषकहरूलाई सरकारी दररेटमा गुणस्तरीय फलफूलका बिरुवा तथा तरकारी विउ शुलभ तरिकावाट उपलव्ध गराई सेवा पुऱ्याउदै आएको छ भने प्राविधिक सेवा निःशुल्क प्रदान गर्दै आएको छ ।
वि.सं. २०२५ सालमा कृषि फार्म प्रयोगशालाको नाममा स्थापित भई वि.सं. २०४९/५० मा नाम परिवर्तन भई वागवानी फार्म पाल्पा नामाकरण भएको, वि.सं. २०५२ सालमा पुनःवागवानी केन्द्र नामाकरण गरिएको । पछि २०६१/०८/०४ को निर्णयले सुन्तलाजात फलफूल विकास केन्द्र, पाल्पा पुनःनाम परिवर्तन हुनपुगेको छ । हाल सुन्तलाजात फलफूल विकास केन्द्र, पाल्पा नामाकरण गरिएता पनि पुरानो वागवानी फार्म/केन्द्रले पुऱ्याउदै आएको सम्पूर्ण वागवानी सेवाहरू यथावत नै राखी सुन्तलाजात फलफूलहरूको स्रोत केन्द्रको रूपमा विकास गरिदै लगिएको छ ।
यस केन्द्रले वर्षेनी फलफूल तर्फ सुन्तलाजातका (सुन्तला, जुनार, कागतीका विभिन्न जातका), विभिन्न फूलका विरूवाहरू तथा तरकारी विउ उत्पादन तर्फ मुला (प्यूठाने रातो) जातका श्रोत बीउहरू उत्पादन गरी माग अनुसार सुलभ तरिकाबाट विक्रीवितरण गर्दै आइरहेको छ ।यस केन्द्रमा उच्च पहाड देखि तराईमा हुने फलफूलहरू धेरै मात्रामा फल्दै आइरहेको देख्न पाइन्छ जस्तै आँप, लिची, कटहर, स्याउ, नास्पाती, आरू, ओखर, आरूवखडा, सुन्तला, कागती, जुनार, केरा, भोगटे, कफी आदि रहेका छन ।केन्द्रले प्रविधि विकास तर्फ पनि कार्यहरू गर्दै आइरहेको छ। केन्द्रले दक्ष जनशक्ति विकासमा टेवा पुग्ने उद्देश्यले वार्षिक रूपमा कृषकस्तरमा विभिन्न तालिमहरू समेत सञ्चालन गर्दै आइरहेको छ। जसबाट दक्ष जनशक्ति उत्पादन हुनमा टेवा पुग्ने आशा लिएको छ ।
